कालिकोट ः
आर्थिक वर्षको दुई महिना बित्यो । स्थानीय तहमा न कुनै विकासे कामकाजको प्रक्रिया सुरु भएको छ, नत कुनै आर्थिक कारोबार नै सञ्चालन गरिएको छ । भन्दा अचम्म लाग्ने गाउँका सिहंदरबार भनिएका निकायमा आर्थिक वर्षका सुरुवाती दुई महिना वितिसक्दा पनि पालिकाको खाता समेत सञ्चालन गरिएका छैनन् । असोज महिना लागिसक्दा पनि सान्नी त्रिवेणी गाउँपालिकाले बैँक खाता सञ्चालनमा ल्याउन सकेका छैन । आर्थिक वर्ष सकिएपछि आन्तरिक लेखा परीक्षण र महालेखा परिक्षण, हिसाब मिलानको कारण देखाइन्छ ।
भदौ २ गते पछि जहिलेपनि पहिलो किस्ता वापतको एक चौथाई रकम निकासा लिन मिल्ने प्रावधान छ । कार्यालयको कामकाजका लागि आर्थिक कारोबार अनिवार्य जस्तै हो । नयाँ कागज पत्र खरिद देखि बैठक गोष्ठी सेमिनारका लागि आर्थिक कारोबार नै चाहिन्छ । स्वास्थ्य शाखा मार्फत औषधि खरिददेखि विद्यार्थी भर्ना छात्रवृत्ती, स्वास्थ्य संस्थामै दिनु पर्ने सुत्केरी भत्ता, कृषि तथा पशु क्षेत्रको बीउवीजन र औषधि सबैमा आर्थिक कारोबार अनिवार्य हुन्छ । विपदको समय भएकोले आपतकालिन राहत तथा उद्धारमा समेत आर्थिक कारोबार नै हुन्छ ।
चालु आर्थिक वर्षको २ महिना वितिसक्दा पनि स्थानिय सरकारले खाता संचालनमा नल्याउदा भुक्तानिका कामहरु ठप्प भएका छन । अघिल्लो आर्थिक वर्षमा गरेका कामहरुको रकम समेत भुक्तानि नपाउदा निकै समस्या भएको सान्नी त्रिवेणी गाउँपालिका ४ का प्रकाश शाहीले बताउनु भयो । उहाँले अघिल्लो आर्थिक वर्षमा विद्यालयको भवन वनाएको पैशा आधा भुक्तानि नपाएको र असार मसान्तको समयमा खाता बन्द भएको भन्दै टारेको बताउनु भयो । नयाँ आर्थिक वर्षमा भुक्तानि दिने भने पनि २ महिना वितिसक्दा समेत कुनै वास्ता नगरेको शाहीले बताउनु भयो ।
उहाँले काम गरेका कामदारहरुको ज्याला दिन समेत नसक्दा कामदारहरु ज्यालाका लागि आफ्नो घर आउने गरेकोर तर पालिकाले समयमै खाता संचालन नगरेर भुक्तानि नदिदा ठूलो सुमस्या परेको शाहीले बताउनु भयो । अघिल्लो आर्थिक वर्षको भुक्तानि लिन वाँकी रकम समेत समयमै लिन नपाउँदा उपभोक्ता समिति ठूलो मर्कामा परेका छन । व्याज निकालेर योजनाको काम सम्पन्न गरेको भएपनि अहिले सम्म भुक्तानि नपाउँदा व्याज तिर्न नै हम्य हम्य भएको उपभोक्ता समितिको गुनासो छ ।
गाउँपालिकाले समयमै खाता संचालन गर्ने योजना बनाएको भएपनि पालिकामा मन्त्रालयले खटाएको प्रमुख प्रशासकिय अधिकृत आउन ढिलाई भएको हँुँदा खाता संचालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले भदौ दोस्रो हप्तामा नै नयाँ प्रमुख प्रशासकिय अधिकृत मन्त्रालयले पठाएपनि पालिकामा नआएको हुँदा समस्या भएको बताउनु भयो । पालिकाका थुप्रै आर्थिक कारोवारका कामहरु रोकिएका छन । नयाँ आउने प्रमुख प्रशासकिय अधिकृतको पर्खाइमा गाउँपालिका रहेको छ । अन्य पालिकामा मन्त्रालयले खटाएका कर्मचारी पुगेपनि सान्नी त्रिवेणी गाउँपालिकामा आउने प्रमुख प्रशासकिय अधिकृत अझै उपस्थित हुन सकेका छैनन् ।





