एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा भएको दाबी गरेका छन् । सदस्यता नवीकरण भन्ने विषयमा पार्टी विधानको धारा ८ र ९ आकर्षित भएको उल्लेख गर्दै यसबारे थप छलफल हुने बताए ।
‘पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण पेन्डिङमा रहेको छ,’ उनले भने, ‘यसबारे थप छलफल गर्ने निर्णय भएको छ ।’ भण्डारीले २०८० मा सदस्यता नवीकरण गरेको बताए पनि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
राष्ट्रपति निर्वाचित भएपछि सदस्यता त्यागेको अवस्थामा सदस्यता नवीकरण गर्न नमिल्ने तर्क संस्थापन पक्षको छ । उनीहरुले नयाँ सदस्य प्राप्तिका लागि संगठन विभागले निर्णय गर्नुपर्ने बताएका छन् । भण्डारी पक्षले भने पुरानै सदस्यता नवीकरण गरिएको बताएका छन् ।





