कालीकोट-
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक समिक्षा र आगामि दिनमा सुधार गर्नु पर्ने पक्ष र कार्ययोजना निर्माण सम्बन्धि गोष्ठि सम्पन्न गरेको छ । आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन सहित विगतमा भए गरेका कामहरु, समस्या र चुनौतिहरुको विश्लेषण सहित नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि के कस्ता उपायहरु अपनाउन सकिन्छ र विगतका समस्याहरुलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा व्यापक छलफल गरिएको हो । पालिका भित्र रहेका ९ वटै वडा सचिवहरुले वडाको वार्षिक प्रतिवेदन र शाखा प्रमुखहरुले शाखा कार्यालयको वार्षिक प्रतिवेदन प्रश्तुत गरेका थिए ।
गाउँपालिकाको राजश्व संकलन अपेक्षा भन्दा कम देखिएको हुँदा राजश्व संकलन बृद्धि गर्नका लागि वडाको मुख्य दायित्व रहने वडा अध्यक्षले बताएका छन । पालिकाको प्रशासन क्षेत्र विगतको भन्दा सुधार हुदै गएको र यसले गर्दा काम गर्न धेरै सहज भएको समेत बताएका छन । यसलाई थप व्यवस्थीत गरेर प्रशासनलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न आवश्यक रहेको बताएका छन ।
सान्नी त्रिवेणी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनका लागि र नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कर्मचारीले आफ्नो भुमिकामा प्रतिबद्ध रहेर काम गर्नु पर्ने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले कर्मचारीको मुल धर्म भनेको नै जनतालाई सेवा प्रदान गर्नु रहेको बताउदै सेवा दिने क्रममा कुनै ढिलासुस्ती र दुख दिने काम नगरि प्रक्रीयागत रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धि, नागरिकहरुको जिवन स्तर उकास्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, लगायतका नागरिकहरुका आवश्यकता पुरा गर्नका लागि कर्मचारीको विशेष भुमिका रहने हुँदा पारदर्शि रुपमा सेवा प्रदान गर्नु कर्मचारीको दायित्व भएको हुँदा सबैले आ आफ्नो काम कर्तव्य र अधिकारमा रहि सेवा प्रदान गर्नु पर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केशीले बताउनु भयो । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र निर्देशनको पालना नगरि मनपरी गर्ने कर्मचारीलाई कार्वाही गर्ने समेत बताउनु भयो । जनप्रतिनिधिले गरेका निर्णयहरु तथा पालिकामा वनेका ऐन, निती नियम तथा कार्यविधिहरुको कार्यान्वयन गर्ने जिम्मा कर्मचारीहरुको रहेको बताउदै ऐन, निती नियम तथा कार्यविधिको कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले कुनै पनि कर्मचारीले कसैको पनि लोभ लालचमा नपरी सत्य तथ्य रुपमा काम गर्न समेत निर्देशन दिनुभयो ।

नागरिकहरुको सेवाका लागि र उनिहरुका आवश्यकताहरु पुरा गर्नका लागि विगतका कमी कमजोरीलाई सुधार गरेर आगामि दिनमा थप सहज र सरल रुपमा सेवा प्रदान गर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । चालु आर्थिक वर्षका लागि छनौट गरिएका योजनाहरु समयमै सम्झौता गरि माघ फागुन सम्म निर्माण कार्य सम्पन्न गरि भुक्तानि लिने गरि वडा कार्यालय र प्राविधिकहरुले काम गर्न निर्देशन दिनुभयो । उहाँले आर्थिक वर्षको अन्तिममा काम गरि भुक्तानि लिने चलनको अन्त्य गर्नका लागि अहिले देखि नै सबैले लाग्नु पर्ने बताउदै अन्तिममा भुक्तानिका लागि आउने फाईलको भुक्तानि आफुले नदिने समेत बताउनु भयो । उहाँले माघ फागुन तिर नै सबै योजनाको भुक्तानि हुने गरि योजना सम्झौता गरि कार्यान्वयन गराउन निर्देशन दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केशी रहनु भएको थियो भने विशेष अतिथि गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्याल रहनु भएको थियो । समिक्षा गोष्ठिमा ९ वटै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य, वडा सचिव, शाखा प्रमुख लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो । प्रशासन शाखा प्रमुख प्रकाश कुमार केशीले संचालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षा अधिकृत मदन बहादुर शाहीले राख्नु भएको थियो । साथै समिक्षा गोष्ठिले जथाभावि रुपमा विदामा वस्न नपाउने, अनिवार्य पोषाक र परिचयपत्र लगाउनु पर्ने, निर्देशनको पालना गर्नु पर्ने लगायतका निर्णय गरेको छ ।





