कालिकोट/
कालीकोट जिल्लाका नौ स्थानीय तहमा एक हजारभन्दा बढी करार कर्मचारी रहेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न समयमा करारमा नियुक्त भएका कर्मचारीको सङ्ख्या अहिले कालीकोटका नौ स्थानीय तहमा एक हजार ३४ जना पुगेका छन् । यी करारका कर्मचारीका लागि नौ वटै स्थानीय तहले वार्षिक २४ करोड ११ लाख ४४ हजार ५६३ रुपियाँ तलबमा खर्च गर्दै आएका छन् ।
जिल्लामा सबैभन्दा बढी तिलागुफा नगरपालिकाले करार कर्मचारी नियुक्त गरेको छ । तिलागुफा नगरपालिकाले १ सय ६४ जना करार कर्मचारी राखेको पाइएको छ । तिलागुफा नगरपालिकाले शिक्षक छोडेर नगरपालिकामा मात्रै विभिन्न पदमा ८८ जना कर्मचारी करारमा भर्ती गरेको छ । यी कर्मचारीका लागि वार्षिक तीन करोड ६८ लाख १२ हजार ८०२ रुपियाँ विकासे बजेट खर्च हुने गरेको छ ।
यस्तै दोस्रो नम्बरमा जिल्लाको खाँडाचक्र नगरपालिका छ । खाँडाचक्रले १३५ जना करारमा कर्मचारी राखेर वार्षिक दुई करोड ६१ लाख ८७ हजार ८८४ रुपियाँ खर्च गरिरहेको छ ।
तेस्रोमा रास्कोट नगरपालिका रहेको छ । रास्कोट नगरपालिकाले १३२ जना कर्मचारी राखेर एक करोड ९० लाख ८३ हजार खर्च गरिरहेको छ । त्यसपछि पलाँता गाउँपालिकाले १२२ जना कर्मचारी करारमा राखेका छन् । उसले वार्षिक तीन करोड ४० लाख ३३ हजार ७५२ रुपियाँ खर्च गर्दै आएको छ । महाबै गाउँपालिकाले १११ जना करार कर्मचारीलाई वार्षिक तीन करोड छ लाख २३ हजार ५०१ रुपियाँ खर्च गरिरहेको छ । स्थायी कर्मचारीको कुनै लेखाजोखा नगरी करार कर्मचारीको जोडबलमा स्थानीय तह छन् ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाले १०१ जना करार कर्मचारी राखेर वार्षिक दुई करोड ८६ लाख ८५ हजार ४५ रुपियाँ तलब भत्तामा खर्च गरिरहेको छ । यस्तै सान्नीत्रिवेणी गाउँपालिकाले एक सय जना कर्मचारी करारमा राखेर वार्षिक दुई करोड ५९ लाख ४४ हजार ७६६ रुपियाँ तलबमा भुक्तानी गर्दै आएको छ । शुभकालिका गाउँपालिकाले ९४ जना करार कर्मचारीका लागि दुई करोड पाँच लाख ६१ हजार ६८ रुपियाँ तलबमा खर्च गर्ने गरेको छ ।
यता पचालझरना गाउँपालिकाले ७५ जना करारका कर्मचारीका लागि वार्षिक एक करोड ३८ लाख ११ हजार ७४५ रुपियाँ खर्च गरिरहेको छ ।





