नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने बताएका छन् ।पार्टी केन्द्रीय विभागको संयुक्त भेलालाई केन्द्रीय कार्यालय च्यासलमा आइतबार सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेर हद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको स्पष्ट गरेका हुन् ।
महासचिव पोखरेलले विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको भन्दै ती विषयमा पनि प्रस्ट पारे । २०७८ मङ्सिर १० गते साँझ सौराहामा भएको केन्द्रीय कमिटीको बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको पोखरेलको भनाई छ ।
‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो’ पोखरेलले भने, ‘पार्टीमा देखिएको तत्कालीन सङ्कटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाइएको हो ।’ विधानको दोस्रो संशोधनका रूपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको पनि पोखरेलले दाबी गरे । महासचिव पोखरेलले विधान महाधिवेशनमा अध्यक्षमा दुई पटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको बताए ।





