कालिकोट :
गाउँपालिका स्तरका सरोकारवालासँग नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तीकरण मञ्च नेपालको आयेजना सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा नीति संवाद कार्यक्रम सम्पन्न भएको हो । समाजमा महिला र सिमान्तकृत समुहको न्यायमा पहुँच बढाउनका लागि ,कानुनी सहायता प्रदान गर्नका लागि र उनिहरुलाई जागरुक बनाउनका लागि यस परियोजनाले सान्नी त्रिवेणी गाउँपालिकामा काम गरिरहेको छ ।
अझै पनि समाजमा महिलाहरु विभिन्न हिंसामा पर्ने गरेका छन । हरेक नेतृत्वदायि भुमिकामा महिलाको संख्या न्यून छ । ग्रामीण क्षेत्रका कतिपय महिलाहरुलाई आफु हिंसामा परेको खण्डमा कानुनी सहायता कसरी लिने भन्ने कुराको पनि जानकारी छैन । उनिहरुलाई हिंसावाट बचाउनका लागि र नेतृत्वमा पुगाउनका लागि उनिहरुको क्षमता विकास गर्ने र कानुनी सहयता प्रदान गर्ने यस परियोजनाको मुख्य उद्देस्य रहेको महिला सशक्तीकरण मञ्च नेपालले जनाएको छ । समुदाय स्तरमा गएर कानुनी सचेतना सम्वन्धि जानकारी गराउने । विपन्न गरिव वर्गहरुलाई व्यक्तीगत घटना दर्तामा सहयोग पुगाउने यस परियोजनाको मुख्य उद्देस्य हो ।
न्यायिक समिति सदस्य अविलाल जैशिको अध्यक्षतामा संचालन भएको नीति संवाद कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी रहनु भएको थियो भने अतिथिमा वडा नं. ४ का वडा अध्यक्ष देवनाथ योगी, वडा नं. ७ का वडा अध्यक्ष जयप्रसाद सिम्खाडा, नेकपा माओवादी केन्द्रका गाउँ कमिटि अध्यक्ष हर्कबहादुर ऐडि, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष मात्रिका प्रसाद उपाध्याय, सहजकर्ता तथा कानुनी अधिबक्ता विस्नु विक, महिला शसक्तीकरण मञ्चका गोपाल चन्द, मेलमीलापकर्ताहरु शाखा प्रमुखहरु लगायतको उपस्थितीमा नीति संवाद कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मेलमीलाप कर्ताहरुले आफुलाई कानुनका विषयमा धेरै ज्ञान आवश्यक रहेको बताएका छन । यस्ता विभिन्न तालिमहरु मार्फत कानुनी कुराको ज्ञान लिन पाय मेलमिलाप कार्यालयमा आउने उजिहरुमा काम गर्न सहज हुने उनिहरुको भनाई छ ।
वडामा गठन भएका मेलमिलापकर्ताहरुलाई सहजताका लागि गाउँपालिकाले कानुनी अधिबक्ता नियूक्ती गरेको हुँदा उहाँमार्फत आवश्यक जानकारी लिन सकिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले मेलमिलाप कर्ताहरुका लागि पालिकाले कानुन सम्वन्धि र अधिकारका क्षेत्रहरु समेटिएको पुस्तकहरु ल्याएर दिईने बताउनु भयो । उहाँले समाजमा हुने झै झगडा, सिमाना विवाद लगायतका उजुरीहरु मेलमिलाप कार्यालयमा उजुरी दिनुपर्छ भन्ने कुराको समुदाय स्तरमा जानकारी गराउनु पर्ने गाउँपालिका अध्यक्ष केशीले बताउनु भयो ।





