अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१÷८२ मा ३७ हजार २६ वटा उजुरी परेको छ । यी उजुरी भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्तीलगायतका विषयसँग सम्बन्धित छन् । आव २०८१÷८२ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको सङ्ख्या ३७ हजार २६ रहेको हो ।
प्राप्त हुन आएका उजुरीमध्ये सङ्घीय सरकारसँग सम्बन्धित १२ हजार ४७५ (३३.६९ प्रतिशत), प्रदेश सरकारसँग सम्बन्धित चार हजार ६१८ (१२.४७ प्रतिशत) र स्थानीय तहसँग सम्बन्धित १९ हजार ९३३ (५३.८४ प्रतिशत) रहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।आयोगले दिएको जानकारी अनुसार कुल उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ (८०.२२ प्रतिशत) उजुरी फस्र्योट भएको र बाँकी सात हजार ३२३ चालु आवमा जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ ।
आयोगमा प्राप्त उजुरीमध्ये छ हजार ७१५ विभिन्न निकायमा आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ५८६ सुझावसहित कार्यान्वयनका लागि लेखी पठाइएको छ । आयोगले आव २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रम हालै सम्पन्न गरेको थियो । कार्यक्रममा आयोगका आयुक्त, सचिव, महाशाखा प्रमुख, आयोगमातहत कार्यालयका प्रमुख, आयोगका अनुसन्धान अधिकृत र भर्चुअल माध्यमबाट आयोगमातहत कार्यालयका कर्मचारीको सहभागिता थियो । कार्यक्रममा आयोगको समग्र कामकारबाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्यहरू र आयोगसामु रहेका सवालसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।





