:
वीरगञ्ज महानगरपालिका क्षेत्र आज (सोमबार) बिहानैदेखि फेरि तनावग्रस्त बनेको छ। विभिन्न हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि विरोध प्रदर्शन सुरु गरेपछि यहाँको अवस्था तनावपूर्ण बनेको हो।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसको विरोधस्वरूप तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका हुन्। हिन्दु धर्मबारे अफवाह फैलाउने र अपमान गर्नेहरू विरुद्ध कारबाहीको माग गर्दै सङ्गठनले विरोध प्रदर्शन गरेको अगुवाहरूले बताएका छन्।
पर्सा प्रहरीका अनुसार अहिले मुस्लिम समुदाय र हिन्दु समुदाय दुवैले वीरगञ्जमा एक अर्काविरुद्ध प्रदर्शन गरिरहेका छन्। दुवै समुदाय आमुन्नेसामुन्ने भएर प्रदर्शनमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले वीरगञ्जको मकालु चोकमा प्रवेशमा रोक लगाएको छ।





