राष्ट्रपति रामचन्द्र पौडेलले योग्य, नैतिक र जिम्मेवार कर्मचारी छनोटमा लोकसेवा आयोगले निर्वाह गर्दै आएको भूमिका प्रशंसनिय रहेको बताउनु भयो ।
आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले सात दशकभन्दा बढी समयदेखि मुलुकको स्थायी प्रशासन सञ्चालनका लागि स्वच्छ र दक्ष जनशक्ति छनोट गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त, स्वच्छता र दक्षतालाई प्रमुख आधार मान्दै क्रियाशील रहनु प्रशंसनीय पक्ष हो। आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सबै वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व एवं जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ। उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्छन् भन्ने अर्थलाई हामीले बिर्सनु हुँदैन।’
नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भए यता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पछाडि पारिएका क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको राष्ट्रपतिको भनाइ छ ।





