स्वास्थ्य क्षेत्रमा सातै प्रदेशका सरकारले चालु वर्षको तुलनामा बजेटको आकार घटाएका छन् । प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार सार्वजनिक गरिएको बजेटमा मधेस सरकारबाहेक अन्य प्रदेश सरकारले स्वास्थ्यमा बजेट घटाएका हुन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई केलाउँदा स्वास्थ्य मन्त्रालय रहेका प्रदेशहरूले समेत महत्त्व दिएको पाइएन ।
कोशी प्रदेश
कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरेको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५१ करोड ७१ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि कोशी प्रदेशले स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ५८ करोड सार्वजनिक गरेको थियो ।
मधेस प्रदेश
मधेस सरकारले स्वास्थ्य क्षेत्रमा अन्य सरकारको तुलनामा बजेटको दायरा बढाएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रका लागि ५ अर्ब २१ करोड बजेट विनियोजन गरेको थियो । मधेस प्रदेशले आगामी आर्थिक वर्षका लागि बढाएर ६ अर्ब ४५ करोड ६१ लाख पुर्याएको छ । यहाँको सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेश
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जम्मा ६७ अर्बको बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरेको हो । जुन बजेट चालु आर्थिक वर्षको भन्दा कम हो । यस प्रदेशले चालु आर्थिक वर्षका लागि ४ अर्ब ८ करोड विनियोजन गरेको थियो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बजेट विनियोजन गरेको छ । जसमा यस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार विनियोजन गरेको छ । जुन रकम चालु आर्थिक वर्षभन्दा कम हो । चालु आर्थिक वर्षमा गण्डकीमा ५ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा आगामी आर्थिक वर्षका लागि अघिल्लो वर्षको तुलनामा कम बजेट सार्वजनिक गरेको हो । लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रमा ४ अर्ब ९५ करोड छुट्ट्याएको छ । यस प्रदेशमा चालु आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५ अर्ब ७४ करोड ८२ लाख विनियोजन गरिएको थियो ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्र खासै प्राथमिकता परेको छैन । यस प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि १२ हजार पुर्याएको छ । यस्तै, सुर्खेत प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान १० करोड ५० लाख वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख, र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार छुट्ट्याएको छ । यस प्रदेशले चालु आर्थिक वर्षका लागि भने कर्णाली सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड रकम विनियोजन गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश
आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम सरकारले स्वास्थ्य क्षेत्रमा भौतिक तथा स्वास्थ्य उपकरण र सेवा शीर्षकका नाममा बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम सरकारले ६ अर्ब ४७ करोड शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, सामाजिक विकास, भाषा संस्कृतिका विनियोजन गरेको थियो





