कुशल नाथ योगी (कोहिनूर) का मन छुने ५ गजल ।।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ मा जन्मीनु भएका एक कुसल साहित्यकार कोहिनुर किताबका लेखक कुशल नाथ योगीका मन छुने गजलहरु ।

गजल-१
समीप राखेर काल पटकपटक
सोधिरहे हालचाल पटकपटक

एकै जवाफ नभएको बेला
सोध्छन् हजार सबाल पटकपटक

यो अन्धकार दुनियाँ विरुद्धमा
बल्ने गर्छन् मसाल पटकपटक

उसले दिएको आँसुले भिज्छ
उसले दिएको रुमाल पटकपटक

राख्छ परेवाले बुद्धको शिरमा
अचेल बन्दुकको नाल पटकपटक

आँखामै मर्छन् कैयौँ सपना
विस्फोट भएर ताल पटकपटक

हावाले उडाएको मन पर्छ
नबाँध कालो कपाल पटकपटक

गजल-२
ठिक या बेठिक पिउने आदत आफ्नो-आफ्नो
मदिरा आफ्नो-आफ्नो सर्बत आफ्नो-आफ्नो

कोही हुन्न अरू झैँ सब हुन्छन् आफू झैँ
धमनी नसाहरूमा छ रगत आफ्नो-आफ्नो

कोही धूलो चाट्छन् कोही तारा छुन्छन्
सपना आफ्नो-आफ्नो ताकत आफ्नो-आफ्नो

म अभागी हुँ भन्दै व्यर्थै निधार ठोक्छन्
बदलिन्छ मेहनतले किस्मत आफ्नो-आफ्नो

अपमानित हुन्छौ या सम्मानित हुन्छौ खै
स्वकर्मबाट बनाऊ इज्जत आफ्नो-आफ्नो

एकपटक जीवनमा प्रेम सबैको हुन्छ
हुन्छ हृदय एकपटक आहत आफ्नो-आफ्नो

नाथ! प्रयोग अरूको गर्छन् यी मान्छेले
फेर्ने गर्छन् केवल हालत आफ्नो-आफ्नो

गजल-३
सत्यवादी स्वार्थहीन होस् एक जनमको जिन्दगी
पल नआओस् कतै जिउने अहम्‌‌को जिन्दगी

रेट्छ मान्छेको गलो तर्साउँदै तरबारले
शान्तिपूर्वक गर्छ आन्दोलन कलमको जिन्दगी

चुम्न लागेको छ पुतलीले दीयोको ओठमा
हुन्छ यस्तै प्यारमा अन्तिम कदमको जिन्दगी

टन्टलापुर घाममा पानी देख्यो मरुभूमिमा
प्यासमा के प्यास मेट्ला खै भरमको जिन्दगी

बाध्य होस् बस्दैन कागजको मनोहर फूलमा
जिउँछ हरहालत कुशल भमरा नियमको जिन्दगी

गजल-४
सोचेभन्दा कर्णाली भिन्न रहेछ
आखिर नमरेर स्वर्ग देखिन्न रहेछ

पागलले ऐना किन हेर्‍यो सोच्दै थेँ
ऐनाको अद्भुत मान्छे चिन्न रहेछ

सोच्नेले सोच्दा हुन् यति बाङ्गो किन भो
सोझो तरिकाले बाँच्न सकिन्न रहेछ

छोड्यौ भने तिमीले मरिहाल्छु कि सोच्थेँ
बाँचेकै छु म हाँसेर मरिन्न रहेछ

सोचेँ, दुःख परे शत्रु पनि साथ दिन्छन्
रात परे आफ्नै छायाँ दिन्न रहेछ

गजल-५
सरकार नै सडकमा कसका विरुद्धमा हो
लाइरहेछ नारा कसका विरुद्धमा हो

आफ्नै हो छाती थाप्ने आफ्नै हो ढुङ्गा हान्ने
आपसमा झैझमेला कसका विरुद्धमा हो

घोचे कि फूलले खै, भमराहरू रुँदै छन्
विद्रोहमा छ काँडा कसका विरुद्धमा हो

खै कसको यादसङ्ग लड्दै छ मध्यराति
राँको समान आँखा कसका विरुद्धमा हो

बादलले घाम छोप्यो वर्षा भएको छैन
ओढिरहेछ छाता कसका विरुद्धमा हो

धर्ती विरुद्ध फेरि कसले उठायो औँला
आकाशमा छ चङ्गा कसका विरुद्धमा हो

सरकारका विरोधी, सरकार थुक्क भन्छ
ऊ फेरि छैन थाहा कसका विरुद्धमा हो

चुपचाप एक हुलले बाले सडकमा टायर
ढुङ्गामुढा न मुद्दा कसका विरुद्धमा हो

मुखका विरुद्ध हो कि या पेटका विरुद्ध
छन् खेतबारी बाँझा कसका विरुद्धमा हो

लेखक  : कुशल नाथ योगी (कोहिनूर)
रास्कोट नगरपालिका-३, कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array