रकु देखि गाउँपालिका सम्म जोड्ने निर्माणधिन सडकको काम पुन सुचारु भएको छ । स्थानियले जग्गा दिन नमानेपछि रोकिएको निर्माण कार्य पुन सुचारु भएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ३ को लुईयाठा गाउँमा स्थानियले सडक खन्नका लागि जग्गा दिन नमानेपछि लामो समय देखि निर्माण कार्य रोकिएको थियो । शनिवार प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही, प्राविधिक शाखा प्रमुख ईन्जिनियर कमल वम, वडा नं. ३ का वडा अध्यक्ष रंगलाल देवकोटा लगायतको उपस्थितीमा स्थानियसँग समझदारी गरि सडक खन्ने काम पुन सुचारु भएको वडा नं. ३ का सचिव हेमराज देवकोटाले जानकारी दिनुभयो ।
सान्नी त्रिवेणी गाउँपालिकाले रकु देखि मुम्रा सम्म सडक संचालन गर्ने पहिलो लक्ष्य लिएको छ । पालिका देखि मुम्रा सम्म सडक संचालनमा आएपछि रकु देखि पालिका सम्मको सडक संचालनमा आउन सकेको छ । कडा चट्टानका कारण सडक खन्नमा केहि ढिलाई भएको हो । वडा नं. २ को रकु गाउँ र वडा नं. ३ को लुईयाठा वस्तीमा सडक पुगेको छ। रकु देखि पालिका सम्म सडक सचालनका लागि अहिले लुईयाठाको गाउँवाट सडक खन्ने काम सुचारु भएको वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता रंगलाल देवकोटाले जानकारी दिनुभयो ।
आफु निर्वाचित भएको पहिलो वर्षमा लुईयाठा गाउँमा सडक पुगाएको र गाउँमा थोरै विवाद आएपछि रोकिएको सडक निर्माण कार्य आज पुन स्थानिय सँग वसेर समाधान गरि सडक निर्माण कार्य सुचारु भएको देवकोटाले बताउनु भयो । अव रकु देखि पालिका सम्मको सडक संचालनका लागि पहल भईरहेको उहाँको भनाई छ । स्थानिय तहको वजेटले नभ्याउने भएपछि प्रदेस र केन्द्रीय सरकारसँग वजेटको माग गरेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भएको छ ।
कडा चट्टान फोड्नका लागि सानो वजेटले नपुग्ने भएको हुँदा वजेटका लागि प्रदेस र संघ सरकारसँग माग गरेको र अर्को आर्थिक वर्षमा रकु देखि मुम्रा सम्मको सडक संचालन गर्ने गरि कामलाई निरन्तरता दिईएको केसीले बताउनु भएको छ ।





