हरेक एपिसोडमा नयाँ पाहुना र ताजा ब्यंग्य प्रस्तुत गर्ने टिभी शो ’कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो संस्करणमा ३ जना कन्टेन्ट क्रियटर इभा गिरी, इस्टु कार्की र पराक्रम राणा देखिए ।
पछिल्लो समय सामाजिक संजालमा ‘कन्टेन्ट क्रिएसन’ गर्दै आएका ३ जना कुनै न कुनै कारणले चर्चामा रहन्छन् । इभा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट हुन् , उनी आफ्ना ट्रेन्डिङ र फेसन कन्टेन्टमार्फत युवामाझ लोकप्रिय छन् । इस्टु कार्की सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्धन र विज्ञापन गर्दै आएकी क्रिएटर हुन् ।
पराक्रम फेसन डिजाइनमा सक्रिय हुनुका साथै चर्चित टिकटकर पनि हुन् । यी ३ को क्रेजलाई आत्मसात गर्दै टेलिभिजन शोले पाहुनाको रुपमा निम्ताएको थियो ।इस्टुले पूर्वी नेपालको माइपोखरी पुगेर त्यहाँका रमणीय ठाउँ घुम्न जान अरुलाई सामाजिक संजालबाट आग्रह गरेकी थिइन् । माइपोखरीको कुरालाई लिएर उनी ट्रोल पनि बनिन् ।यिनै किस्सालाई लिएर इस्टुमाथि कार्यक्रममा धेरै ब्यंग्य भयो । ‘छोरीको खुट्टा तान्ने मान्छे छोरी मान्छे नै हुन्छ’ भनेर इभाले भनेको कुरामा कलाकारले व्यंग्य गरे ।
एपिसोड सुरुवात भयो भरतमणि पौड्यालको प्रस्तुतिबाट । उनले घरबेटी बा बनेर स्टेज सम्हाले । उनीसँगै माइकल बनेर स्टेजमा देखिए सुमन कोइराला । भाडामा बस्ने र घरबेटीको हास्य संवाद, पछिल्लो पुस्ताको प्रेम सम्बन्ध र सामाजिक विषयवस्तुमा आधारित प्रस्तुतिले दर्शकलाई भरपूर हँसायो ।
त्यसपछि स्टेजमा देखिए शून्य गौतम बनेका प्रभात लामा । उनले भाइरल व्यक्ति पुण्य गौतमको क्यारिकेचर गरे । उनीसँगै आए ‘माइलो डन’ बनेका पवन भट्टराई । दुबैले मिलेर भाइरल प्रवृत्ति कटाक्ष गरे । सजन श्रेष्ठ ‘सोलुसन बाबा’ बनेर आए । उनले कन्टेन्ट क्रिएटरलाई ब्यंग्य गरे । त्यसपछि स्टेजमा देखा परे कैलाश कार्की, जसले रक्सी पिउने व्यक्तिको भूमिकामा अभिनय गर्दै पाहुनासँगको रोचक संवादमा दर्शकदेखि पाहुना सबै लाई हँसाए । स्टेज लगातार हँसिलो र रमाइलो बन्यो ।





