पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम रहेकाे उपाध्यक्ष पौडेलकाे भनाइ ।।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ।

एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताउनुभयो।

एमाले उपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उहाँले बताउनुभएको छ। “कतै पनि सग्लो पार्टी भेटिदैन। धोएको मूला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिदैन” उहाँले भन्नुभयो, “तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो। जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ।”

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागि रहेको जानकारी दिनुभयो। “विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ”, उहाँले भन्नुभयो, “केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ। यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ।” उहाँले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिनुभयो।

“विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं,” उहाँले भन्नुभयो, “विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला। एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन।” उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array