अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली महिला फुटबल टोली यतिखेर तयारीमा व्यस्त छ । बेल्जियमका प्याट्रिक डि वाइल्ड नयाँ प्रशिक्षक नियुक्त भएपछि नेपाली टोलीले ‘फुल स्पिरिट’मा ट्रेनिङ गरिरहेको छ ।
बुधबार नेपाली महिला टोलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रशिक्षण गरेको छ । मुख्य प्रशिक्षक वाइल्डलाई नेपाली प्रशिक्षकहरु राजेन्द्र तामाङ भगवती थापा र सुरज लामाले सघाइरहेका छन् ।
विदेशमा लिग खेलेका सबै खेलाडीहरु नेपाल आइसकेका छन् । अबुधाबी काउन्टी क्लबबाट युएईको लिग जितेर फरवार्ड रेखा पौडेल पनि नेपाल आइपुगिसकेकी छन् । यस्तै भुटानमा खेल्ने पुजा राना पनि नेपाल फर्किसकेकी छन् । फरवार्ड सावित्रा भण्डारी साम्बा र गोलकिपर एन्जिला तुम्बापो थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेर फर्केपछि नेपालमै छन् ।
महिला एसियन कप छनोटमा नेपाल समूह एफमा छ । यस समूहमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । छनोटका खेलहरु यही जुन २९ देखि जुलाई ५सम्म उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९मा लाओससँग खेल्दै छनोटको यात्रा सुरु गर्नेछ ।





