नेपालले साफ वुमेन्स यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा शुक्रबार भुटानमा सजिलो ६–१ को जित रचेको छ । बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा भएको खेलमा प्राप्त जितको नायक पूर्णिमा राई रहिन् र उनले ह्याट्रिकसहित ४ गोल गरिन् ।
दोहोरो राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा यस जितसँगै नेपालको ३ अंक भएको छ । हारले भुटान शून्य अंकमै सीमित रह्यो । दिनको पहिलो खेलमा आयोजक बंगलादेशले श्रीलंकामाथि एकपक्षीय ९–१ को जित रचेको थियो ।
यही नजिकका कारण गोल अन्तरले बंगलादेश तीनै अंकमा शीर्ष स्थानमा रह्यो । श्रीलंका शून्य अंकमै सहभागी चार टिममध्ये पुछारा रह्यो । नेपालको जितमा भने सेनु परियारले २ गोल गरिन् । भुटानका तर्फबाट केल्देन वाङ्गमोले १ गोल फर्काइन् ।





