युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने ट्रम्पको घोषणा

युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा मस्कोले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति असन्तुष्ट देखिएका छन् ।

जसका कारण ट्रम्पले आइतबार युक्रेनलाई ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने घोषणासँगै रुसमाथि नयाँ प्रतिबन्ध लगाउने संकेत गरेका छन् ।

‘हामी प्याट्रियट पठाउने छौं, जसको उनीहरूलाई अत्यन्त आवश्यक छ,’ यसबाहेक युक्रेनलाई अरू कति हतियार पठाउने भन्ने स्पष्ट नगरीकनै ट्रम्पले आइतबार भनेका हुन् । ‘मैले अझै संख्यामा सहमति गरेको छैन तर उनीहरूका लागि सुरक्षा आवश्यक छ,’ ट्रम्पले न्युजर्सीमा आयोजित फिफा क्लब विश्वकप फाइनलपछि पत्रकारलाई भनेका हुन् । ट्रम्पले सोमबार वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँग कूटनीतिक भेट गर्नुअघि यस्तो घोषणा गरेका हुन् । यसै साता अमेरिकी विशेषदूतले पनि युक्रेनको भ्रमण गरेपछि ट्रम्पले युक्रेनलाई हतियार दिने बताएका हुन् ।

रुस–युक्रेन लडाइँ तीन वर्षदेखि चलिरहेको छ । युद्धविरामका लागि पहल भइरहँदा एकअर्काप्रतिको आक्रमण झन् तीव्र हुँदै गएपछि वार्ताको वातावरण बिथोलिँदै गएको छ । ह्वाइट हाउसले यसअघि किएभलाई हतियार वितरण रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतामा वासिङ्टनले किएभमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array