कर्णालीमा विपन्न विरामीलाई प्रदेश सरकारले यातायात खर्च दिने भएको छ । आर्थिक अवस्था कमजोर भएर अस्पताल पुग्न नसकेको र पुगेर पनि फर्कन नसकेको विरामीहरुलाई आर्थिक सहयोग गर्ने भएको छ । विकट भूगोल र आर्थिक विपन्नताका कारण उपचारका लागि अस्पताल पुग्न वा उपचारपछि घर फर्कन नसक्ने नागरिकका लागि सरकारले सहारा दिने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले अबदेखि बेवारिसे, असहाय तथा विपन्न बिरामीहरूलाई यातायात खर्च उपलब्ध गराउने घोषणा गरेको हो ।यसका लागि सम्बन्धित वडाको सिफारिस वा उपचार गरिएको अस्पतालले बेवारिसे, असहाय, विपन्न, यातायात खर्चको अभावले अस्पताल पुग्न वा अस्पतालबाट घर जान नसक्ने बिरामी सिफारिस गरेको हुनुपर्ने सर्त छ । यस्तो सिफारिस सहित मन्त्रालयमा निवेदन गरेबमोजिम भौगोलिक दुरीको आधारमा ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म यातायात खर्च उपलब्ध गराइने सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
आर्थिक अभावले अस्पतालको यात्रा तय गर्न नसक्ने वा उपचारपछि घर फर्कने पैसा नभएर अलपत्र पर्नेहरूको पीडालाई सरकारले सम्बोधन गरेको मन्त्री भण्डारीको भनाइ छ । उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्ने नागरिकका लागि शववाहन बापतको रकम पनि मन्त्रालयले व्यहोर्ने भएको छ ।





