कालिकोट-
चारैतिर हरियाली । बुकी फूल सँगै सयौँ फुलहरुले ढपक्क ढाकेको पाटन । बीचबाट तीनवटा खोला सुसाउँदै बग्छन् । तीन खोलाको संगममा बनाइएको मन्दिरले प्राकृतिक सुन्दरतामा सुगन्ध थपेको छ । चराको चिरबिर आवाज र बेलाबेलाको घाम , सिमसिमे वर्षा र कुहिरोको लुकामारीले यहाँ पुग्ने जोकोहीलाई ‘धर्तीमै स्वर्ग’ भेटिएको आवास मिल्छ । यस्तो ठाउँ हो कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा पर्ने त्रिवेणी पाटन ।
मनमोहक प्राकृतिक सौन्दर्यताले भरिपूर्ण त्रिवेणी पाटन समुद्री सतहबाट झण्डै चार हजार २१९ मिटरको उचाइमा छ । बीचमा बग्ने तीनवटा खोलाको संगम भएकाले पनि यसलाई त्रिवेणी पाटन भनिएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो स्थान उत्तिकै महत्वपूर्ण छ । यहाँ घुम्नलाई वैशाख देखि असोजसम्मको समय उत्तम मानिन्छ । हिउँदमा सेताम्मे हिउँले भरिने भएकाले जान मुस्किल हुन्छ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने त्रिवेणी पाटनले पर्यटकको मन लोभ्याउने गरेको छ । त्रिवेणीको काखमा रहेका ३२ वटा ठूला ठूला सुन्दर पाटनहरूले पर्यटकलाई मोहित नै बनाउँछ ।

बास्तवमा त्रिवेणी घुम्न पुग्ने पर्यटकहरूले यहाँको प्राकृतिक सुन्दरतासँगै रमाउन पाउँदा भूस्वर्गको अनुभूति गर्छन् । त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर क्षेत्र भएकाले पनि यहाँ पुग्नेले यसलाई धर्तीको स्वर्ग भन्छन् । मुम्राको लेकाली क्षेत्रमा रहेको सुन्दर त्रिवेणी पाटनमा प्रायः सिजन अनुसार नै पर्यटक पुग्ने गर्छन् । त्रिवेणी पाटनको जुनसुकै भागमा उभिएर हेर्दा पनि प्रकृतिको सुन्दरता अवलोकन गर्न सकिन्छ । वरिपरि मिलेको लेकाली वन, पानीको कलकल र अलि परतिर लस्करै उभिएका पाटनले त्रिवेणीलाई पृथ्वीको स्वर्ग जस्तै कञ्चन बनाएको छ ।

यस पाटनको आकर्षण भनेको जंगली जनावर पनि हुन्। कस्तुरी, मृग, हिउँ चितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत वन्यजन्तु यस क्षेत्रमा पाइने गरेको स्थानीयले बताएका छन्। साथै नेपालको राष्टिय चरा डाँफे पनि यसै क्षेत्रमा पाइन्छ । जडिबुटीका लागि त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ। यस क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडिबुटी पाइने गरेको छ। त्रिवेणी पाटन, आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन नसक्दा यो क्षेत्र ओझेलमा परेको छ।

हरेक वर्ष जनै पूर्णिमाको बेला त्रिवेणीमा धुमधामसँग धार्मिक मेला लाग्छ । जनै पूर्णिमामा भारतको कुमाउ र गढवालदेखि भक्तजनहरू त्रिवेणीमा आउने गरेको यहाँका पूजारी कृष्णप्रसाद धमला बताउनुहुन्छ । ‘त्रिवेणी हुँदै बडिमालिका जाने हजारौँ तीर्थयात्री हुन्छन् ।’साघुरो र अप्ठ्यारो वाटोका कारण त्यहाँ पुग्न निकै कठीन भएपनि त्यहाँको दृष्यले सबै पीडा भुलाउने गरको उहाँको भनाई छ । विगतका वर्षहरु भन्दा प्रतेक वर्ष आउने भक्तजनहरुको संख्याका बृद्धि भईरहेको धमलाले बताउनु भयो ।पश्चिम नेपालका साथै भारतबाट पनि तीथायात्रीहरू यहाँ पूजा गर्न र घुम्न आउँछन् । जुम्ला, बाजुरा र कालीकोटबाट पूजाको बेलामा सरकारी अधिकारी समेतको टोली नै यहाँ आउँछ । त्रिवेणीमा नुहाएर बडिमालिका दर्शन गरे मनले चिताएको पूरा हुने जनविश्वास छ ।

रोगव्याध नाश हुने, पदोन्नति हुने विश्वास छ । साथै दुःखीलाई सुख, निःसन्तानलाई सन्तान र गरिबले धन पाइने धार्मिक विश्वासका कारण पनि त्रिवेणी पाटनसम्म पुग्नेहरूको संख्या धेरै छ । बडिमालिका दर्शन गर्नुभन्दा पहिले त्रिवेणी नदिमा स्नान गर्दा शुद्ध हुने धार्मिक विश्वास छ । त्यसैले बडिमालिकाका सबै पूजारीहरू सहित भक्तजनहरुले यहाँ स्नान गरेर बडिमालिका मन्दीर दर्शन गर्न जान्छन ।
त्रवेणी पाटन मात्र नभएर त्रिवेणी धामको रूपमा लिने गरिन्छ । कर्णालीका सबै जिल्ला र सुदूरपश्चिम पहाडका बझाङ, बाजुरा, डोटी, बैतडी र अछामको संगमस्थलको रूपमा त्रिवेणी धामलाई लिन सकिन्छ । पर्यटनका लागि त्रिवेणी पाटन आकर्षक गन्तव्य हो। यहाँ पर्यटक भित्र्याउन सक्ने हो भने त्रिवेणी सिमाना कालिकोट, सुदुरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, र डोटी जिल्लाको आन्तरिक आयस्रोतमा ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन्।

पछिल्लो समय त्रिवेणी पाटन पश्चिम नेपालकै सुन्दर पर्यटकीय स्थल बन्दै गएको छ। त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्य त्रिवेणी पाटनका विशेषता हुन्। पाटनबाट तीनवटा मुहान फुटेर बगेको खोलाको संगम रहेकाले यसलाई त्रिवेणी पाटन भनिएको जानकार बताउँछन्।
नजिकै रहेको बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्छ। मेला भर्न विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेका छन्। उनीहरू पनि एकपटक त्रिवेणी पाटनमा पुगेरै जाने गरेको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताए। त्रिवेणी पाटनमा दुईवटा खोला छन्, गंगा र जमुना जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भने धार्मिक विश्वास रहेको बूढापाखा बताउँछन्। त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फुल्छन्।
त्रिवेणी पाटन यहाँका पशुपालक किसानहरूको रोजीरोटीको मुख्य आधारभूमि हो । जिल्लाको नरहरिनाथ, सान्नी त्रिवेणी, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिकाका पशुपालक किसानले वर्षमा ६ महिना यही पाटनमा बिताउँछन् । भेडा, बाख्रा, गाईभैंसी र घोडा लगायतका पशु चौपायाका लागि यो मुख्य चरन क्षेत्र हो ।

हरेक वर्षको वैशाख, जेठमा किसानहरू पशु चौपाया लिएर पाटनतर्फ उक्लिन्छन् । असोज र कात्तिक महिनामा जाडो बढेपछि मात्र उनीहरू गाउँतिर झर्छन् । वैशाख महिनाबाट लेकतिर उकालिएका चौपायाहरू असारमा मात्र पाटन क्षेत्रमा पुग्ने गर्छन । हरियाली पाटनमा भेडाका लागि चरिचरन राम्रो हुन्छ, यही कारण पनि गाउँका सबै भेडापालक किसानले भेडा, बाख्राका बथानहरू वर्षायाममा पाटनतिरै लिने गरेको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ का भेडापालक किसान प्रभु धामीले बताउनु भयो ।
त्रिवेणी पाटनलाई संरक्षित क्षेत्र बनाउने तयारी स्थानीय सरकारको छ । सान्नी त्रिवेणी गाउँपालिकाले संरक्षित क्षेत्रको रूपमा विकास गर्न लागिएको जनाएको हो । यहाँ कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नायरलगायत विभिन्न किसिमका वन्यजन्तु पाइने भएकाले यसलाई संरक्षित क्षेत्रको रूपमा घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष महेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्रिवेणी पाटन देशकै सम्पदा हो, यहाँ पाइने दुर्लभ वन्यजन्तुको संरक्षण गर्नु आवश्यक छ । पर्यटनको विकासका लागि पनि हामीले यसलाई संरक्षित क्षेत्र बनाउने तयारी गरेका हौँ ।’

त्रिवेणी पाटन पर्यटकिय क्षेत्रको रुपमा निकै सम्भावन वोकेको ठाउँ रहेको सान्नी त्रिवेणी गाउँपालिका प्रमुख प्रशसकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । उहाँले सामाजिक संजाल र विभिन्न संचार माध्यमवाट देखेका दृष्य भन्दा पनि धेरै राम्रो रहेको बताउनु भयो । उहाँले भन्नुभयो, म पहिलो पटक यो क्षेत्रमा आएको हुँ । सोचे भन्दा पनि राम्रो रहेछ । वाटोमा हिड्दाको दुख पीडा पाटनमा पुगेपछि सबै विर्सीयो । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा यसवाट ठूलो आर्थिक लाभ लिन सकिने छ ।
प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दीर त्रिवेणी पाटनलाई पर्यटकीय हव बनाउनका लागि तिनै तहका सरकारको भुमिका महत्वपुर्ण रहने शुदुरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीले बताउनु भयो । उहाँले बडीमालीका देवि प्रति जति धार्मिक आस्था छ त्यो भन्दा बढि यहाँका विभिन्न दृष्यले आउने भक्तजनहरुको मन लोभ्याउने गरेको बताउनु भयो । उहाँले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा ठूलो लाभ लिन सकिने बताउनु भयो । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले यो क्षेत्रका लागि लगानि गर्न आवश्यक रहेको र यसको प्रचार प्रसारलाई पनि व्यापक बनाउनु पर्ने बताउनु भयो ।

जति यो ठाउँ सुन्दर र रमणीय छ त्यति नै मात्रा वाटो खानेपानीको समस्या रहेको त्यहाँ पुगेका भक्तजनहरु बताउछन । अप्ठ्यारो वाटोका कारण कतिपय विच वाटोवाटै फर्किने पनि गरेका छन् । त्रिवेणी पाटन, बडीमालीका मन्दीर सम्म पुग्ने वाटो निर्माण गर्न सकेमा भक्तजन तथा पर्यटकहरुको संख्या बढ्ने देखिन्छ । यो पटम मात्र करिव ५० हजार बढि भक्तजनले बडीमालीका दर्शन गरेको छन ।





