रमानन्द आचार्यद्वारा लिखित ‘खसिया आखर’ नामक खस शब्दकोश प्रकाशित ।।

चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यद्वारा लिखित ‘खसिया आखर’ नामक खस शब्दकोश प्रकाशित भएको छ । झण्डै १७ वर्षको अध्ययन, अनुसन्धान र लेखनपछि प्रकाशित खस शब्दकोषको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले लोकार्पण गरे ।

कहिले दाताको खोजीमा त कहिले खस शब्दको खोजीमा रोकिएको आचार्यको यो कृति सामाजिक विकास मन्त्रालयले प्रकाशन गरिदिएको हो । खस शब्दकोषको लागि शब्द खोज्दै गर्दा कसैले पत्याएनन्, कसैले यो कृति प्रकाशन नहुने बताइरहे ।

केहीले आचार्यको कामको तारिफ गरे । तर आलोचना र प्रसंसाकै बीचबाट उनले खस शब्दकोष प्रकाशन गरेरै छाडे । जिल्ला समन्वय समितिको परिसरमा उनका लागि एउटा कोठा दिइएको थियो । खसिया आखर नामको बोर्ड झुण्ड्याएर उनी रातदिन शब्द लेखनमा लागि रहे ।

आचार्यले भने, ‘नेपाली भाषाको जननी जुम्लाको खस भाषा हो । बल्ल मेरो सपना पूरा भएको छ ।’ उनको लेखनले खस शब्दकोष मात्र निकालेन, १७ वर्षको मेहनतको रेकर्ड नै तोड्यो । १३ सय पृष्ठको यो शब्दकोषमा ४० हजार शब्द अटाएको छ ।

शब्दकोषमा खसभाषाका उपज शब्दहरु मात्रै राखिएका छन् । पछिल्लो दिनमा आयतित आधुनिक शब्दहरु समेटिएका छैनन् । शब्दकोष प्रकाशन गर्ने दाता खोज्न उनलाई समय लागेको थियो । ‘संकलित पाण्डुलिपी दराजमै थन्काएर अस्ताउँछु कि भन्ने लागेको थियो’, उनले भने, ‘जेहोस मर्नुअघि नै प्रकाशन गर्ने धोको पूरा भयो । खस भाषा र सभ्यता जीवित राख्ने प्रयास पूरा भएको छ । अब भावी पुस्ताले यसलाई दस्तावेजका रुपमा अध्ययन अनुसन्धान गर्नेछन् ।’

उनले धेरै निकाय, संघ संस्था, व्यक्ति सबैसँग शब्दकोष निर्माणको लागि पहल गरेका थिए । आर्थिक लाभ प्राप्त नहुने देखेपछि सबै पन्छिए । तर अहिले उनले शब्दकोष पढ्न पाउने गरेर प्रकाशन भएको छ । उनले शब्दकोषको अभिभावक नै कर्णाली प्रदेश सरकार बन्यो । अहिले सामाजिक विकासमन्त्रालयले एक हजार प्रति शब्दकोष प्रकाशन गर्न पुग्ने रकम दिएको छ by:ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array