कञ्चनपुर —भीमदत्त नगरपालिका–२ उल्टाखामकी दुर्गादेवी पन्तलाई हिजोआज घरमा आउने नयाँ मान्छेसँग उतिसारो कुरा गर्न मन लाग्दैन । न्यायको खोजीमा उनले बिताएका ७ वर्षको दौडधुप र हैरानीले उनी गलेकी छन् । घरमा आउनेहरूले छोरी निर्मलाबारे सोधखोज नगरून् र प्रहरीको अनुसन्धान कहाँ पुग्यो भनेर नसोधून् भन्ने उनी चाहन्छिन् । कान्तिपुरले प्रसंग निकाल्नासाथ दुर्गादेवीले भनिन्, ‘यसबारे कुरै नगरम् ।’
१० साउन २०७५ मा साथीको घरमा पढ्न गएकी १३ वर्षीया निर्मला दोस्रो दिन बिहान घरभन्दा केही टाढा भीमदत्त–१८ स्थित उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनालगत्तै सीआईबीका तत्कालीन डीएसपी अंगुर जीसी नेतृत्वको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्त रूपमा अनुसन्धान सुरु गरेको थियो । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटना लगत्तैदेखि हत्यारा पत्ता लगाउन दबाबमूलक रूपमा आन्दोलन पनि भएको थियो ।
निर्मलाको शव भेटिएदेखि नै प्रहरीले घटनास्थलको सुरक्षादेखि प्रमाण संकलनसम्ममा लापरबाही गरेको स्थानीयको आरोप छ । घटनामा ‘भीआईपी’ को संलग्नता रहेकाले प्रहरीले प्रमाण मेटाउने प्रयास गरेको उनीहरू दाबी गर्छन् । घटनास्थलमा निर्मलाको कपडा धोएको, घटनास्थलको सुरक्षा नगरेको जस्ता गतिविधि भिडियोमा सार्वजनिक भएका थिए ।
निर्मलाको शव भेटिएको चौथो दिन १४ साउनमा महाकालीमा अन्तिम संस्कार भएको थियो । ४ भदौमा प्रहरीले मुख्य अभियुक्तका रूपमा भीमदत्त–२ उल्टाखामका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । उनलाई सार्वजनिक गरेपछि आन्दोलन झनै भड्कियो । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुपर्यो । ekantipur.com





