कालिकोट:
जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका को मुम्रामा गाडी पुगेको छ । शनिवार मुम्रा गाडि पुगेको अवसरमा वोल्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले अव पालिकाको पहिलो प्राथमिकता रकु देखि पालिका जोड्ने सडकमा हुने बताउनु
भयो । आफुहरु निर्वाचित भई पदधारण गर्दा गरेको पहिलो निर्णय रकु देखि मुम्रा सम्मको सडक संचालन गर्ने निर्णय गरेको हुँदा उक्त निर्णय कार्यान्वयन गर्नका लागि अव रकु देखि पालिका सम्मको सडकमा ध्यान केन्द्रीय हुने बताउनु भयो । पालिका देखि मुम्रा सम्मको सडक संचालनमा आएपछि आफुले निर्वाचनमा गरेको घोषणा केहि पुरा भएको बताउनु भयो ।
उहाँले सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि सडक नै पहिलो आवश्यकता रहेको बताउनु भयो । पालिकाका ९ वटै वडा सडक सजालमा जोडेर यहाँका नागरिकहरुको आर्थिक स्थीतीमा सुधार ल्याउन सकिने उहाँको भनाई छ ।
सडक संचालनमा आएर गाउँ गाउँमा गाडि पुगेपछि स्थानियलाई व्यवसायिक कृषि पेशामा आवद्ध गरि पालिकावाट खालि फर्किने यातायातका साधनमा यहाँको उत्पादन निर्यात गर्ने योजना रहेको बताउनु भयो ।
उहाँले मुम्रा वासीलाई सडक आएको खुसी सँगै अव स्थानिय उत्पादनलाई जोड दिन समेत आग्रह गर्नुभयो । हामीलाई १ सय मिटर सडक खनेर केहि प्रगति गरेनन् भन्ने आरोप लगाइएको छ । केसीले भन्नुभयो, हामीले एक सय मिटर मात्र सडक खन्यौ होला तर अरुले पाँच वर्ष लगाउने काम हामीले एक वर्षमा सम्पन्न गरेका छौ । खालि माटो मात्र पन्साएर सडक संचालन गर्न सकिदैन । कडा चट्टान पनि फोड्ने हिक्मत राख्नुपर्छ ।
वडा नं. १ देखि ३ सम्मको सडक पनि आगामी आर्थिक वर्षमा सम्पन्न भएपछि पालिका भित्रका सबै बस्ती सडक सञ्जालमा जोडिने भएकाले बाँकी वर्षहरूमा मर्मत सुधारमा काम गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सज्यालले आफ्नो चुनावी प्रतिबद्धता पूरा हुने क्रम जारी रहेको बताउनुभयो । उहाँले आज काप्डीखोलाको चट्टान फुटाएर सबै नागरिकलाई सडकमार्फत पालिका जोड्न पाएको भन्दै बाँकी कामहरू सम्पन्न गर्नका लागि सबैलाई सहयोग गर्न अपिल समेत गर्नुभयो । अघिल्लो सरकारले धेरै लगानी गरेको भए पनि चट्टानलाई फुटाउन नसक्दा तीन वटा वडाका नागरिकहरू गाउँपालिका पैदल आउन बाध्य थिए । २०७९ को स्थानीय निर्वाचनमा विजय भएसँगै आफू र गाउँपालिका अध्यक्षले साझा रूपमा प्रतिबद्धता गरेको र त्यही अनुसार बजेट केन्द्रित गरेर काप्डीखोला चट्टान फुटाएर सडक साबिकको मुम्रा पुगेको शिंहले बताउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले सबै वडा सडक सञ्जालमा जोड्न निकै दुःख भएको बताउनुभयो । भौगोलिक रूपमा निकै कठिन ठाउँ भएकाले सबै वडालाई प्रत्यक्ष पालिकाको केन्द्रसँग जोड्न समय लागे पनि अब भने सहज भएको बताउनुभयो ।
रास्कोट नगरपालिका देखी मुम्रासम्म सडक निर्माण भएपनी मौसमी रुपमा गाडी चढेर जानु पर्ने मुम्राका नागरिकको वाध्यता थियो । वर्खामा तुसार खोला पहिरोका कारण सिपखानासम्म मात्र गाडी चढेर जानु पर्ने बाध्यता थियो ।
हिउँदको समयमा मात्र गाडीमा मुम्रा यात्रा हुने गरेको थियो । अहिले गाउँपालिका देखी काब्डीखोला भिरको सडक निर्माण भएपछी कर्णाली करिडोर देखी गाउँपालिका केन्द्र मेहलमुडी हुदै मुम्रा सम्म गाडीमानै यात्रा गर्न सहज हुने भएको छ ।
कर्णाली कोरिडोरसँग प्रत्यक्ष सम्पर्क भएको गाउँपालिका भए पनि वडा नं. ६ देखि वडा नं. ७, ८ र ९ वडा जोड्ने सडक निर्माण गर्न पालिकालाई निकै सकस भएको थियो ।





